ए डिभिजन लिगमा आज ३ खेल हुँदै, मनाङ र एपीएफ आमनेसामने हुने

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
ए डिभिजन लिगमा आज ३ खेल हुँदै, मनाङ र एपीएफ आमनेसामने हुने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा ८ पटकको च्याम्पियन मनाङ मर्स्याङदी र विभागीय टिम एपीएफ आमनेसामने हुँदैछन् । यो खेल साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

२०७५ सालपछि लिग उपाधि जित्न नसकेको मनाङ जारी लिगमा अपराजित छ। उसले आफ्ना अघिल्ला चार खेलमा दुई बराबरी र दुईमा जित हात पारेको छ ।

यता एपीएफले दुई खेल जित्दा एक बराबरी र एक हार व्यहोरेको छ । यी दुईबीच अघिल्लो वर्ष भएको भेटमा एपीएफले ३ - १ गोलको जित हात पारेको थियो । गत सिजन आहा रारा गोल्डकपको फाइनलमा एपीएफले मनाङलाई नै हराएर उपाधि उचालेको थियो ।

यस्तै रेलिगेसन ब्याटल गरिरहेका नेपाल पुलिस र न्युरोड टिम एनआरटीबीच दिउँसो साढे दुई बजे दशरथ रंगशालामै प्रतिस्पर्धा हुनेछ । जारी लिगमा पुलिसले अघिल्ला चारवटै खेल गुमाएको छ । तालिकाको पुच्छारमा रहेको पुलिसले खाता खोल्न सकेको छैन । रेलिगेसन जोनमै रहेको एनआरटीको मात्रै एक अंक छ । सोही समयमा च्यासल मैदानमा फ्रेन्ड्स र त्रिभुवन आर्मी आमनेसामने हुनेछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.