फिफाको अध्यक्षमा पुन: इन्फान्टिनो

चैत्र ३, २०७९
फिफाको अध्यक्षमा पुन: इन्फान्टिनो

किगाली । विश्व फुटबलको नियमनकारी निकाय फिफाको अध्यक्षमा पुन: जियानी इन्फान्टिनो निर्वाचित भएका छन् ।

अफ्रिकी देश रुवान्डाको किगालीमा भएको फिफाको ७३औं कंग्रेसले इन्फान्टिनोलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गत नोभेम्बर-डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको दौरान आप्रवासी श्रमिकमाथि भएको विभेदबारे कडा रुपमा प्रस्तुत नभएको भन्दै इन्फान्टिनो सदस्य राष्ट्रहरुबीच आलोचित बनेका थिए ।

यस्तै हरेक दुई वर्षमा विश्वकप आयोजना गर्ने इन्फान्टिनोको योजना भने असफल भएको थियो । यसका बाबजुत पनि उनीविरुद्ध अध्यक्ष पदमा कोहीले दाबेदारी प्रस्तुत गरेनन् । पुन: अध्यक्ष बनेपछि इन्फान्टिनोले, आगामी चार वर्षको चक्रमा फिफाको आयमा कीर्तिमानी एघार विलियन डलर वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो आयमा सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप समावेश हुने छैनन् । उनले अबको आफ्नो कार्यकालमा विश्वभर बढीभन्दा बढी फुटबल प्रतियोगिता हुने जनाएका छन् । इन्फान्टिनोले सन् २०१६ मा सेप ब्लाटरलाई प्रतिस्थापन गरेका थिए ।


Enter Kantipur TV HD
Advertisement