कोलोनसँग बायर्न म्युनिख बराबरीमा रोकियो

माघ ११, २०७९
कोलोनसँग बायर्न म्युनिख बराबरीमा रोकियो

म्युनिख । जर्मन लिग बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख कोलोनसंग १-१ गोलको बराबरीमा रोकिएको छ । बायर्नलाई जोसुवा किमिखले हारबाट जोगाएका हुन् ।

गएराति भएको खेलमा कोलोनले घरेलु टोली बायर्नविरुद्ध चौथो मिनेटमै गोल गेरको थियो । उसका लागि एलियस स्खिरीले गोल गरेका हुन् । लिगको अघिल्लो खेलमा वेडर ब्रेमनसंग ७-१ गोलको फराकिलो हार बेहोरेको कोलोन पहिलो हाफमा बायर्नभन्दा उत्कृष्ट देखिएको थियो । दोस्रो हाफमा बायर्न हाबी भयो ।

अन्तिम मिनेटमा सम्हालिन नसक्दा कोलोन तीन अंक जोड्नबाट चुक्यो । ९० औँ मिनेटमा किमिखले गोल गर्दै बायर्नको हार टारे ।

जर्मन च्याम्पियनले सेप्टेम्बर यता लिगमा पराजय बेहोरेको छैन । लिगमा बायर्नको यो लगातार दोस्रो बराबरी हो ।

अघिल्लो खेलमा उसले लाइपजिगसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । तालिकाको शीर्ष स्थानमा रहेको बायर्नको १७ खेलबाट ३६ अंक छ ।

३२ अंकका साथ लाइपजिग दोस्रो स्थानमा छ । गए रातिनै भएको खेलमा लाइपजिगले साल्केमाथि ६-१ गोलको फराकिलो अन्तरको जित निकालेको छ ।