
कञ्चनपुर । नौ वर्षको उमेरसम्म लेखपढ गर्न, दौडिन, खेल्नसक्ने हुनुहुन्थ्यो कञ्चनपुर लालझाडी गाउँपालिका ५ का १२ वर्षीय सुप्रिम जप्रेल । नौ वर्षपछि अचानक तल्लो शरीरले काम गर्न छाडेपछि सुप्रिम अहिले अपांगता सहन बाध्य हुनुहुन्छ । अपांगताकाकारण जीवनमा छाएको अँध्यारोलाई पुनः उज्यालोतर्फ डोहोराउने गरी सुप्रिमलाई घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ ।
कञ्चनपुरको लालझाडी ५ का १२ वर्षीय सुप्रिम जप्रेल । सपाङ्ग हुँदा चार कक्षासम्म पढेका सुप्रिम, शारीरिक अपाङ्गता गम्भीर बन्दै जाँदा सिकेकै अक्षर पनि बिर्सिन थाल्नुभयो । तीन वर्षयता विभिन्न अस्पतालमा उपचारकालागि लगियो । लाखौँ खर्चि भयो । तर उपचार सम्भव नभएपछि परिवारले एक वर्षदेखि उहाँलाई घरमै राख्न बाध्य भएको सुप्रिमकी आमा ललिता जप्रेलले बताउनुभयो ।
पछिल्लो एक वर्षयता लालझाडी गाउँपालिकासँगको सहकार्यमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले सुप्रिमलाई बिर्सिएको पढाइ सम्झाउने, हराउँदै गएको शारीरिक अभ्यासमा सक्रिय गराउने अभियान सुरु गर्यो, घरमै विद्यालय कार्यक्रममार्फत । यही कार्यक्रमले सुप्रिमलाई फेरि विद्यार्थी बनाएको लामो समयदेखि सुप्रिमलाई नजिकबाट सहजकर्ताको काम गर्दै आउनुभएकी लालझाडी ५, कञ्चनपुरकी धना महराले बताउनुभयो ।
सहजकर्ता धना महराकै हातले सुप्रिम फेरि पढाइतिर फर्कँदै हुनुहुन्छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्ने कक्षा, नियमित अभ्यास, सिकाइका गतिविधि । तीन वर्षयता थलिएका सुप्रिमलाई देखेर जो कोही पनि आशावादी हुँदै गएका छन् । तल्लो शरीर नचले पनि माथिल्लो शरीरका अङ्गहरू सक्रिय भइरहेका छन् । सुप्रिमले अक्षर पुनः चिन्दै जाँदा मुस्कान फर्किएको छ ।
हिँड्न नसक्ने सुप्रिमलाई कपीका अक्षरले आत्मविश्वास बढाउँदै लगेको छ । लालझाडी गाउँपालिकामा सुप्रिम मात्र होइनन् । अरु पाँच जना बालबालिकाका लागि पनि यही कार्यक्रम चलिरहेको छ । सवैको घरमा पनि यस्तै सहजकर्ता खटाइएका छन् । गाउँपालिकाले यस्तो सिकाइलाई निरन्तरता दिने लक्ष्यसहित योजना अघि बढाइरहेको लालझाडी गाउँपालिका लालझडीका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना कञ्चनपुरको लालझाडी र बेलडाँडी गाउँपालिकाका साथै जाजरकोटको छेडागाड र भेरी नगरपालिका तथा कालिकोटको शुभकालिका तथा तिलागुफा नगरपालिकामा पनि सञ्चालनमा छ । यसले थुप्रै बालबालिकाको जीवनमा उज्यालो फर्काइरहेको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना प्रबन्धक बिसनदेव जोशीले बताउनुभयो ।
उपेक्षित र अति अशक्त बालबालिका सिकाइबाट नछुटुन् भन्ने उद्देश्यले नै युरोपियन युनियन, सेभ द चिल्ड्रेन र एनएनएसडब्ल्यूएको सहयोगमा सञ्चालित यस परियोजनाले कार्य गरिरहेको छ । सुप्रिमको कथा अवसर पाएका बालबालिकाको कथा हो । अवसर नपाएकाहरू अझै हजारौँ छन् । सबैलाई समेट्ने शिक्षा, कसैलाई नछाड्ने समाज, यही नै वास्तविक समावेशिता हो ।