काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार, हिन्दु धर्मावलम्बीले आज विशेष महत्त्वका साथ भगवान शिवको पूजाआराधना गर्दैछन् । आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वारका रुपमा भक्तजनले लिने गरेका छन् ।
यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्।
शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ।
ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्याउँछ।
यसैबीच, साउन महिनाको तेस्रो सोमबारको अवसरमा सयौं भक्तजन बोलबम यात्राका लागि काठमाडौंको सुन्दरीजल भेला भएका थिए । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारमा रहेको सुन्दरीजल पुग्ने भक्तजनले नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् र त्यहीँबाट जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार यात्रा गर्छन्।