भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपाल : केपी ओलीको नियतै मेरो राजनीतिक करिअर समाप्त पार्ने हो

जेष्ठ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपाल : केपी ओलीको नियतै मेरो राजनीतिक करिअर समाप्त पार्ने हो

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै बदमासी नगरेको दाबी गर्नुभएको छ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि आज गृहजिल्ला रौतहटमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली जस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको बताउनुभयो ।

“मैले कुनै अनुचित काम गरेको छैन र अपराधलाई प्रोत्साहन गरेको पनि छैन”, उहाँले भन्नुभयो ।

कसले कुन छिद्र राखे/नराखेको आफूलाई जानकारी नभएको जिकिर गर्दै उहाँले आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको दाबी गर्नुभयो ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछिको अवस्थाबारे कानुन व्यवसायीसँग परामर्श गर्ने पनि जानकारी दिनुभयो । 

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीति सक्न चाहेकाले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको बताउनुभएको छ । “उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको हो । मेरो करिअर समाप्त पार्ने उहाँको नियतै हो । पहिले पनि उहाँले यस्तो किसिमको प्रयास पटक पटक गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्नुभएको छ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.