धारामा पानी थापेको भन्दै अर्घाखाँचीमा दलित महिलालाई निर्घात कुटपिट

वैशाख १७, २०८२ |रुद्रमणि भुसाल
धारामा पानी थापेको भन्दै अर्घाखाँचीमा दलित महिलालाई निर्घात कुटपिट

अर्घाखाँची । मालारानी गाउँपालिका-४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई धारामा पानी थापेको भन्दै छिमेकीले निर्घात कुटपिट गरेका छन् । बुधबार बिहान धारामा पानी लिन गएका बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते विकको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरिरमा निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट छन् । रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई गाली गलौज गरेका थिए ।

‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरुले पानी भर्न पाउँदैनौं । अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै जातीय विभेद गरी प्रितिलाई कुटपिट गरेको प्रत्यक्षदर्शी स्थानीयले जनाएका छन् । 

पीडितको उजुरीका आधारमा रिजाललाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।