भक्तपुर । सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु भएको छ । नयाँ वर्षभन्दा चार दिनअघिबाट सुरु हुने बिस्का जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
जात्राको पहिलो दिन भैलखः अर्थात भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुन्छ । तःमारी टोलमा रहेको भैरव मन्दिरमा विधिवत पूजापछि मूल देवतालाई रथमा विराजमान गराएर जात्रा सुरु हुन्छ । विषेशगरी जात्रामा तःमारी टोलमा रहेको प्यागोडा शैलीको तीन तल्ले भैलखलाई दुई टोल तल्लो र माथिल्लो टोलका स्थानीयहरूले आआफनो टोलमा लैजान दुवै क्षेत्रवाट रथलाई होस्टे हैसेको लयमा तानातान गर्ने प्रचलन छ । यो नै जात्राको प्रमुख आकर्षण हो ।
जात्राको पहिलो आज दिन भैरवनाथको रथ तल्लो टोलको टौमढीबाट शहरका विभिन्न स्थान हुँदै वंशगोपाल चोकसम्म र माथिल्लो टोलको दत्तात्रय मन्दिरसम्म लैजाने परम्परा रहेको छ ।
जात्रा सुरु हुने पहिलो दिनलाई द्यो क्वँबिज्यागु अर्थात भैरवनाथको रथ तल्लो टोलमा विराजमान हुने भनिन्छ । जात्रामा रथको अगाडि भागमा छ र पछाडि भागमा भैरवनाथको रथलाई ल्याएर ग हिटी टोलमा ल्याइसकेपछि आजको जात्रा समापन हुने गर्छ ।
लिच्छविकालदेखि मनाइँदै आएको बिस्केट जात्रा वि सित अर्थात नागनागिन मार्यो भन्ने भावका आधारमा मनाइँदै आएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा विजय उत्सवका रूपमा पनि मनाइने भएकाले यो जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।