धनुषा । वैदेशिक रोजगारीमा गरिब, विपन्न तथा मजदूरी गरेर जीवनयापन गर्ने व्यक्तिहरूको पनि पहुँच भएपछि उनीहरूको जीवनशैलीमा आमूल परिवर्तन भएको छ । पहिले गाउँमा अरूको जग्गामा बुनिबुतो गर्दै जेनतेन गुजारा गर्ने गरिब, विपन्न तथा मजदूरहरू अचेल पक्की घर बनाएर सुखी जीवन बिताउन थालेका छन् ।
धनुषाको नगराइन नगरपालिका-९ घोडघास बस्ने सरगुन पासवानको परिवार पाँच वर्षअघिसम्म झुपडीमा बस्थ्यो । उहाँले बनिबुतो गरेर तीन जना छोरालाई हुर्काउनुभयो । तर उहाँका छोराहरूले गर्नका लागि कुनै इलम पाएनन् । त्यसैले उहाँले ऋण काढेर पहिले जेठो छोरालाई विदेश पठाउनुभयो । १३ वर्षदेखि साउदीमा मिस्त्रीको काम गर्दै आएका जेठा छोराको कमाइ मासिक एक लाख रुपैयाँभन्दा बढी छ । ३ महिनाअघि साउदी पुगेका सरगुनका माइला र कान्छा छोरा पनि महिनाको ४० हजार रुपैयाँभन्दा बढी कमाउछन् ।
“तीन जना छोरा वैदेशिक रोजगारीमा गएपछि यो परिवार अहिले झुपडीबाट पक्की घरमा सरेको छ । कठिन परिस्थितिको बाबजुद छोराहरूलाई विदेश पठाएँ । अहिले धेरै खुशी छु । दलित जनजातिहरूको लागि राजनीति गरेपछि मधेशका युवाहरूमा परिवर्तन भएको छ”, सरगुन पासवानले बताउनुभयो ।
सरगुन पासवान दलित अधिकारकर्मी पनि हुनुहुन्छ । बुबा र काकाको राजनीतिक पृष्ठभूमिले सरगुनमा सानैदेखि जातीय विभेद विरुद्ध लड्ने चेत पलाएको थियो । तर उहाँ तीन जना छोरीको विवाहमा लागेको खर्चका कारण ऋणमा डुब्नुभएको थियो । तर अहिले साहुको ऋण तिरिसकेर पनि १० धुर जग्गा जोडेर ४ कोठे पक्की घर बनाउन सफल हुनुभएको छ ।
पासवान परिवारले रेमिट्यान्सबाटै ३० लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिसकेको छ । आर्थिक संकटबाट मुक्त भएपछि सरगुनलाई जातीय विभेद विरुद्ध निर्धक्क भएर लाग्न सहज भएको छ । “समय–समयमा राजनीतिमा लागे पनि अहिले बढि समय खेतीकिसानीमा लागेको छु । छोराहरू विदेश गएपछि साहुको ऋण तिरेको छु भने जीवनमा खुशी छाएको छ”, गुलोदेवी पासवानले बताउनुभयो ।
छोराहरू वैदेशिक रोजगारीमा गएपछिको परिवर्तन सरगुनको परिवारमा प्रत्यक्ष देखिन्छ । पहिले रोजिरोटीको लागि भारतको पञ्जाब धाउने पासवानको परिवारका अचेल दिन फर्किएका छन् । रेमिट्यान्सले घरमा सुख र समृद्धि ल्याएका सरगुन पासवान जस्ता धेरै परिवार मधेशका गाउँगाउँमा भेटिन्छन् ।