झापा । कचनकवल गाउँपलिका-७ तारावनास्थित दिपज्योति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । आज बिहान स्थानीय महिलाहरुको समूह दाउरा र घाँस काट्न वनमा गएका बेला जंगली हात्तीले आक्रमण गरेको थियो ।
जंगली हात्तीले खेदाएपछि भागेका महिलाहरुमध्ये अन्दाजी ३५ वर्षकी केलाबत्ती राजवंशीलाई प्रहरीले घाइते अवस्थामा भेटेको थियो । राजवंशीलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि भद्रपुरकै ओमसाई पाथीभरा अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।