धनुषा । भगवान् श्रीकृष्णकी छोरी श्यामा, छोरा शम्ब, ज्वाई चारुवक्य र चुगलसँग जोडिएको कथामा आधारित सामाचकेवा पर्वले अहिले मिथिला क्षेत्रमा रौनक छाएको छ । दाजुभाइ र दिदीबहिनीबीच प्रेम र सद्भाव छर्ने पर्वका रुपमा यो चाडलाई लिने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक, सांस्कृतिक पर्वमध्ये समाचकेवा पर्व कार्तिक शुक्ल पञ्चमीदेखि पूणिर्मासम्म मनाइन्छ ।
पद्मपुराणमा चर्चा गरिएको यो पर्व पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको कथा बोकेको गीति संरचना सामाचकेवामा छ ।
सामा स्त्री र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चरा मानेर माटोको प्रतिरुप बनाइएको हुन्छ । त्यस्तै वृन्दावन, सतभइया, चुगला लगायतको माटोको आकृति बनाई डालीमा राखी छरछिमेकका सबैजना एकै ठाउँमा भेला भई दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली गर्ने भाव बोकेका गीत गाएर दिदीबहिनीहरु मनोरञ्जन गर्दछन् ।
यसमा कुनै महिला वृन्दावन्दनमा आगो लगाउछिन् भने कसैले सनपाटले बनाएको चुगलाको जुंगामा आगो लगाउँदै निभाउँदै गर्दछन् ।
मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा मौलिक सामाचकेवा जगेर्नाका लागि यस वर्ष जनकपुरधाममा ६ दिवसीय सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला पनि आयोजन गरिएको छ ।
मिथिलाका अविवाहित र विवाहिता सबै महिलाले समूहगत रुपमा यो पर्व मनाउँछन् । महापर्व छठको दोस्रो दिन खरनाको राति सखर हालेको खीर नैवेदका रुपमा ग्रहण गरेपछि शुरु हुने सामाचकेवा पर्व कार्तिक पूणिर्मासँगै समापन हुन्छ । पूणिर्माको राति सामाचकेवालाई अर्को वर्ष फेरि कुड खेतमा आइबस्नु है भन्दै सबै माटोका पात्रको बिसर्जन गर्ने चलन छ ।