रामेछापका बाढीपीडितले एक महिना बितिसक्दा पनि पाएनन् राहत

कार्तिक २२, २०८१ |नवराज श्रेष्ठ
रामेछापका बाढीपीडितले एक महिना बितिसक्दा पनि पाएनन् राहत

रामेछाप । गत असोज १२ गते रामेछापको रणजोर खोलामा आएको बाढीबाट विस्थापित भएका मन्थली नगरपालिका-१ का बासिन्दाले अझैसम्म राहत पाएका छैनन् । खोलाले धार परिवर्तन गरी वस्तीबाटै बगेपछि मन्थली घाटमा रहेका धेरै घरमा क्षति पुगेको छ । किसानका सयौं रोपनी धानखेत बगरमा परिणत भएको छ । ४ सयभन्दा बढी किसान प्रभावित छन् । तर, एक महिना बितिसक्दा पनि क्षतिपूर्तिको त कुरै छाडौं, प्रभावितहरुले सामान्य राहतसम्म पाएका छैनन् ।

मन्थली नगरपालिका-१ मन्थली घाटकी ६५ वर्षीया मनमाया श्रेष्ठ अहिले गाँस-बासविहीन बन्नुभएको छ । गत असोज १२ गते रणजोर खोलाले एक्कासी धार परिवर्तन गरी बस्तीबाटै बगेपछि मनमायाको घर र भित्र्याउने बेला भएको धान खेत बगरमा परिणत भयो । मनमाया र उहाँ जस्तै बाढीबाट घरवारविहीन भएकाहरुले सामान्य राहतसम्म पाएका छैनन् ।

बाढीबाट यहाँका ६ परिवार घरविहीन नै भए । अधिकांस किसानको धान फल्ने खेत बगर बन्यो । तर, तिनै तहका सरकारले उनीहरुलाई राहत दिँदै पुनःस्थापना गर्न सकेका छैनन् । 

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका अनुसार असोज १० देखि १२ गतेसम्मको बाढी पहिरोले मन्थली नगरपालिकामा मात्रै १ हजार ७ सय ५० रोपनीमा लगाइएको अन्नबाली पूर्णरुपमा नष्ट भएको छ । चार सयभन्दा बढी किसान प्रभावित छन् । तर, क्षतिको एकीन विवरण अझै संकलन भइसकेको छैन ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement