लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कोतघर र शक्तिपीठमा सराय नाचको रौनक

आश्विन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कोतघर र शक्तिपीठमा सराय नाचको रौनक

काठमाडौं । विजयादशमी मनाएपछि आज एकादशीका दिनमा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका विभिन्न कोतघर र शक्तिपीठहरुमा आज हात हतियार जुधाएर सराय नाच सुरु भएको छ ।

गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानका कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा एकादशी र पूर्णिमाको दिन सराय नाचसहित उत्सव मनाउने चलन छ । केही क्षेत्रमा दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्मै खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाचिन्छ ।

पञ्चेबाजाको तालमा पनि सराय नाच्ने गरिन्छ । सत्यको विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ । गुल्मीको छत्रकोट, हुँगा,चन्द्रकोट,मुसिकोट, इस्माकोट, धुर्कोट, पुर्कोट लगायतका क्षेत्रमा सराय नाचको विशेष मेला लाग्छ ।

यस्तै अर्घाखाँचीको अर्घातोष, छत्रदेव तथा पाल्पाको मुझुङ्गकोट, ख्याहा, बल्डेङ्गगढी क्षेत्रमा पनि सराय नाचको उत्सव हुन्छ ।

दैत्य र दानवहरूमाथि देवी-देवताले विजय हासिल गरेको खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ । घटस्थापनाको दिन घरघरमा राखेको जमरा र दसैंको टिका खोला र पोखरीमा बगाएर बिर्सजन गरिन्छ ।

लुम्बिनीका पहाडी क्षेत्रमा बाईसे र चौबीसे राजा बस्ने समयदेखि नै दसैंको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैंलाई बिदा गर्ने परम्परा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.