काठमाडौं । स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा झन्डै तीन दशक बिताएर सचिवसम्म बन्नुभएकी डा. सुधा शर्मा स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्र सकारात्मक छ ।
स्वास्थ्य क्षेत्र नै बुझेको व्यक्ति मन्त्री भएका कारण अब स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने चुनाैति पनि उहाँमा छ । मन्त्री शर्माले गर्नैपर्ने कुराहरू के-के छन् त ?
२०६८ सालमा सचिवबाट अवकाश लिएर १४ वर्षपछि पुनः स्वास्थ्य मन्त्रालयमा फर्कँदा डा. सुधा शर्मा उत्साही देखिनुहुन्थ्यो । अब त्यो उत्साहलाई कायम राख्दै स्वास्थ्य क्षेत्र सुधार गर्ने चुनौति उहाँसामु छ । कार्यकालका हिसाबले उहाँसँग जम्मा करिब साढे चार महिनामात्रै छ। यो अवधिमा मन्त्री शर्माले गर्नैपर्ने कुराहरू के-के छन् त ?
पहिलो हो जनशक्ति व्यवस्थापन-
अहिले सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको ठूलो अभाव छ । देशभर ३२ हजारको दरबन्दी छ । जबकि चिकित्सक, नर्स तथा पारामेडिक्स गरी कम्तीमा पनि १ लाख आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ । मुलुकका तीनै तहमा स्वास्थ्य संस्था थपिइरहने तर जनशक्ति पर्याप्त नहुने हुँदा स्वास्थ्य सेवामा नागरिकको पहुँच झन् जटिल बन्दै गइरहेको छ ।
दोस्रो हो प्रभावकारी स्वास्थ्य बिमा -
अर्को गर्नैपर्ने काम स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन हो । महंगो उपचारका कारण नागरिक झन्-झन् गरिब बन्ने अवस्था आउन नदिन सरकारले ९ वर्षअघि स्वास्थ्य बिमाको अवधारणा ल्याएको थियो । तर, सरकारी अस्पतालले समेत कार्यान्वयन गर्न नसक्दा नागरिकले दुःख पाइरहेका छन् । त्यसैले स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा कार्यक्रमको गुणस्तर, पहुँच तथा प्रभावकारिता वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्नेछ ।
तेस्रो हो बिरामीमैत्री सरकारी अस्पताल-
सरकारी अस्पतालहरूको सेवा निकै कष्टकर छ । सेवा लिन लामो लाइन बस्नुपर्ने, सामान्य परीक्षणका लागि पनि महिनौं पालो कुर्नुपर्ने, सीमित ओपीडी समय, उपकरण पटक-पटक बिग्रिइरहने, सेवा बिरामी मैत्री नहुनेजस्ता अनगिन्ती समस्या छन् । अस्पतालको गुणस्तर र मापदण्ड नै समेत सुधार र कार्यान्वयन गर्नुपर्नेछ ।
चौथो हो उपकरण अभाव अन्त्य-
स्वास्थ्य क्षेत्रमा उपकरण अभाव र दुरूपयोग अर्को ठूलो समस्या हो । सरकारले उपकरण खरिदमा बर्सेनि २ अर्ब भन्दा बढी खर्च गर्ने गर्छ । तर, उपकरण व्यवस्थापनमा मनपरी छ । चाहिएको ठाउँमा उपकरण नहुने तर भनसुन र दबाबका आधारमा नचाहिएका ठाउँमा लगेर थन्क्याउने प्रवृत्ति छ । यसलाई अन्त्य गर्दै सही व्यवस्थापन गर्नुपर्नेछ ।
पाँचौ हो- डिजिटाइजेसन,
प्रविधिको युगमा पनि सरकारी अस्पताल पूरानै प्रणालीअनुरूप चलिरहेका छन् । देशभरका अस्पतालमा स्वास्थ्य सेवा, प्रयोगशाला परीक्षण तथा औषधिमा एकरूपता ल्याउन डिजिटाइजेसन अनिवार्य भइसकेको छ ।
अर्को चुनौती हो नर्सको समस्या समाधान-
अहिले निजी मेडिकल कलेजका नर्सहरू सरकारीसरह तलब माग गर्दै आन्दोलित छन् । सरकारी सरह तलब सुविधा पाउनुपर्ने उनीहरूको माग छ । मन्त्रालयले यसअघि नै सरकारी सरह तलब सुविधा दिन निर्देशन दिएकोमा धेरै स्वास्थ्य संस्थाले कार्यान्वयन गरेका छैनन् । उसै त नर्सिङ जनशक्ति पलायन भइरहेको अवस्थामा न्युन पारिश्रमिकमा काम गर्नुपर्दा पलायनको क्रम झन् बढ्ने जोखिम छ । त्यसैले स्वास्थ्यमन्त्रीले नर्सका समस्या सुल्झाउन प्राथमिकता दिनुपर्नेछ।
यसबाहेक एम्बुलेन्स सेवालाई एकीकृत र प्रभावकारी बनाउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका कार्यान्वयनलाई प्राथमिकतामा राख्ने,स्वास्थ्यको खरीदमा हुने भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, अस्पतालको उपचार तथा परीक्षण शुल्कबारे नागरिकलाई जानकारी दिने, कुल शय्याको १० प्रतिशत विपन्नका लागि छुट्याउने जस्ता नीति कार्यान्वयन गर्नेजस्ता विषयलाई मन्त्री शर्माले प्राथमिकतामा राख्नुपर्नेछ ।
के नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले साढे चार महिनाको कार्यकालमा यी सबै काम सम्पन्न गर्न र स्वास्थ्य क्षेत्रमा थिति बसाल्न सक्नुहोला त ?