काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको विवादको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले आज ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाउनु भएको छ ।
प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेवेलाई साँझ ५ बजे मन्त्रालयमा बोलाइएको सांसद उर्मिला थेवेले जानकारी दिनुभयो ।
चितवन पुग्नु भएकी सांसद लिलादेवी बोखिमले गृहमन्त्रीसँग छलफलकै लागि चितवनबाट फर्कन लागेको बताउनु भयो । उहाँहरुले जिल्लाको वास्तविक अवस्था जानकारी गराउने र आन्दोलनरत पक्षसँग छलफलकालागि सरकारलाई सुझाव दिने जनाउनु भयो ।
ताप्लेजुङको पाथीभरादेवीको मन्दिर सम्म केवलकार सञ्चालनका लागि निर्माणको विरुद्ध स्थानीय बासिन्दा लामो समयदेखि आन्दोलित छन् । 'मुक्कुमलुङ' पुरानो नाम रहेको पाथीभरालाई लिम्बु समुदायले आफ्नो धार्मिक र सांस्कृतिक महत्वको स्थानका रुपमा लिन्छन् । त्यहाँको सम्पदा र संस्कृतिप्रति अतिक्रमण हुने भन्दै 'नो केवलकार' अभियान चलिरहेको छ ।
शनिबार दिउँसो र साँझ गरेर ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा १८ जना घाइते भएका थिए भने तीन जना प्रदर्शनकारीलाई प्रहरीले चलाएको गोलीसमेत लागेको थियो ।