राजधानी प्रवेश गर्ने नाका ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

माघ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजधानी प्रवेश गर्ने नाका ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीका माग पुरा नगरे राजधानी प्रवेश गर्ने नाका ठप्प पार्ने चेतावनी दिएको छ ।

निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रुपमा नलिएको भन्दै निर्माण व्यवसायीहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले निर्माण व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो । उक्त निर्णय बमोजिम निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि,भुक्तानी अभाव,सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता जस्ता समस्या समाधान नगरेको भन्दै आन्दोलनको घोषणा गरेको जनाएको छ । 

निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तहले गम्भीर रुपमा नलिएका कारण निर्माण उद्योग पूर्ण रुपमा धराशायी हुने निश्चित देखिएकाले निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने व्यवसायहरूको माग छ ।

व्यवसायीहरूले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री लगायत विभिन्न सरोकारवाला निकायहरूलाई ज्ञापनपत्र बुझाउने, माघ १८ गते राजधानीको माइतिघर मण्डलामा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिमका नाकाहरू ठप्प पार्ने कार्यक्रमहरू सार्वजनिक गरेका छन् । 

माग पुरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारेर आन्दोलनलाई थप सशक्त बनाउने महासचिव रोशन दाहालले चेतावनी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement