भूमि सम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

माघ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
भूमि सम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताउनुभएको छ ।

बुधबार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान गर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अध्यादेशहरु ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? त्यस दिशमा सरकारले सोच्नुपर्छ । त्यस कुरालाई नै हृदयंगम गरेर हामीले अहिले यि केही अध्यादेशहरु आएका छन् ।’

उहाँले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताउनु भयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि बिरोध मात्रै गरिरहेको बताउनु भयो । विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उहाँको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement