कुन कानुन टेकेर अदालतले देउवा दम्पतीलाई जारी गर्‍यो पक्राउ पुर्जी ? (पत्रसहित )

चैत्र २६, २०८२ |किरण पौडेल
कुन कानुन टेकेर अदालतले देउवा दम्पतीलाई जारी गर्‍यो पक्राउ पुर्जी ? (पत्रसहित )

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई आधार मानेको छ ।

आयोगले गत साेमबार देउवा दम्पति पक्राउका लागि काठमाडौं जिल्ला अदालतमा बुझाएको पत्रमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा (२) र (४), सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १५ क तथा ऐनको दफा १६ को उपदफा (१) को देहाय खण्ड (क) उल्लेख गरेको छ ।

विभागको यही अनुपतिपत्रका आधारमा मंगलबार अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो । देउवा दम्पत्ति विदेशमा छन् ।

पक्राउ अनुमति पत्रको प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि बुधबार उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

आयोगको पत्रमा भनिएको छ, 'प्रस्तुत विषयमा सम्पत्ति शुद्धिकरणको कसुरको अनुसन्धानको सिलसिलामा डडेलधुरा जिल्ला गन्यापधुरा गाउँपालिका वडा नं. २ वतन भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बस्ने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजकी पत्नीलाई पक्राउ गर्न पर्ने भएकाले निजहरुलाई पक्राउ गरी सम्पत्ति शुद्धिकरणको कसुरको अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (२) र (४), सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १५ क तथा ऐनको दफा १६ को उपदफा (१) को देहाय खण्ड (क) समेत बमोजिम पक्राउ अनुमतिको लागि सादर अनुरोध छ ।' 


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।