
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिइएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूसहित करिब ८३ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्ने १५ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएको कांग्रेस नेता मानबहादुर नेपालीले बताउनु भयो । नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष (गगन थापा पक्ष) संवेदनशील नभएको आरोप लगाउनु भयो ।
खड्का-कोइराला पक्षले शेरबहादुर देउवाको नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रीय समितिलाई नै आधिकारिक मानेको छ । अदालतको निर्णय नआउन्जेल गगन थापालाई सभापति नमान्ने र १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने उनीहरूको रणनीति छ ।
बैठकमा समानुपातिक उम्मेदवार चयनका क्रममा सभापति गगन थापाले विधान र प्रचलित कानुनको उल्लङ्घन गरेको विषयले प्राथमिकता पाएको छ । बैठकमा खड्काले शेरबहादुर देउवाले हस्ताक्षर गरी बुझाएको सूचीलाई तोडमोड गरिएको जानकारी गराउनुभएको थियो ।
विशेष गरी पिछडिएको क्षेत्रबाट सिफारिस भएकी केन्द्रीय सदस्य विद्या तिमल्सिनालाई हटाएर खस-आर्य कोटाका पुरूषलाई प्राथमिकता दिएको र दलित कोटामा एक नम्बरमा रहेका मानबहादुर नेपालीलाई पाखा लगाएकोमा बैठकले आपत्ति जनाएको छ । यो कदम सर्वोच्च अदालतले बालकृष्ण न्यौपानेको मुद्दामा कायम गरेको नजिर (दलित, जनजाति र महिलालाई प्राथमिकता दिने) विरूद्ध रहेको ठहर गरिएको छ ।
पार्टीभित्र निर्वाचित जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूलाई कारबाहीको धम्की दिने, मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र ‘मिडिया ट्रायल’ गर्ने काम भइरहेको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ । मंगलबारको बैठकलाई नै आधिकारिक केन्द्रीय समितिको बैठक दाबी गर्दै यो पक्षले बुधबार पनि छलफललाई निरन्तरता दिने भएको छ ।
देशभरका जिल्ला, प्रदेश र स्थानीय कार्यसमितिहरूसम्म आफ्नो छुट्टै रणनीति लिएर जाने तयारी खड्का-कोइराला पक्षले गरेको छ । अदालतको अन्तिम फैसला नआउन्जेल थापाको नेतृत्वलाई नमान्ने र आन्तरिक सङ्घर्षलाई व्यवस्थित गर्दै १५औँ महाधिवेशनको तयारीमा लाग्ने निष्कर्षमा यो समूह पुगेको छ ।