साफ यू-२० च्याम्पियनसिप : नेपाल सेमिफाइनल नजिक

चैत्र ११, २०८२ |खेल ब्युरो
साफ यू-२० च्याम्पियनसिप : नेपाल सेमिफाइनल नजिक

काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेर सेमिफाइनल नजिक पुगेको छ। 

माल्दिभ्समा बुधबार दिउँसो सम्पन्न खेलमा नेपालले श्रीलंकालाई १-० गोलले हराएको हो। खेलको २३औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। अट्याकिङ क्षेत्रको दायाँबाट गणेश पुलामी मगरको प्रहार डिफेन्डरबाट डिफ्लेक्ट भएपछि सुवास बमले गोल गरेका थिए। बमको प्रहार गोलकिपर नदल सेना-पालाले जज नै गर्न सकेनन्।

पहिलो हाफमा नेपालले दबाब बनाएको भए पनि गोलका थप उत्कृष्ट अवसर सिर्जना गर्न सकेन। नेपालको डिफेन्स लाइन चिर्न नै संघर्ष गर्नु परेपछि श्रीलंकाले खेलमा प्रभाव जमाउन सकेन। नेपालका सुवासले खेलको ६०औं मिनेटमा गोलको सुनौलो अवसर गुमाए। 

उनको प्रहार पोस्टको पहिलो बारमा लागेर मैदान बाहिरिएको थियो। उनले श्रीलंकन डिफेन्डर बीचबाट गरेको प्रहारले स्कोरको रूप लिन सकेन। यसैगरी, खेलको इन्जुरी समयमा नेपालका गणेशको सुन्दर प्रहारमा गोलकिपरले डाइभ गरेर सेभ गरेपछि नेपालले अन्तिम समयमा गोल दोब्बर बनाउन सकेन। 

यससँगै एक गोलको अग्रता बनाएको अवस्थामा खेल सकिएपछि नेपालले दोस्रो जित हासिल गरेको हो। प्रतियोगिताको पहिलो खेलमा नेपलाले भुटानलाई हराएको थियो। अब नेपालले २७ मार्चमा आयोजक माल्दिभ्ससँग खेल्नेछ।