
काठमाडौं । निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभइ कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलबार देउवा पक्षका नेता श्यामकुमार घिमिरेले पार्टीको आधिकारितासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नभइ नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिनुभएको हो ।
नेपाली कांग्रेसका निवर्तमान सांसद समेत रहनुभएका घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाए पनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । उहाँले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।
नेता घिमिरेले नेपाली कांग्रेसका आधिकारितासम्बन्धी मुद्दामा छिटो फैसला गर्न पनि सर्वोच्च अदालतलाई दबाब दिनुभयो । नेता घिमिरेले सर्वोच्च अदालतले जनतामाथिको विश्वास आर्जन गर्न पनि सो मुद्दाको फैसला तत्काल गर्न गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।
उहाँले देउवालाई बेवास्ता गरेर जाँदा निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको आरोप समेत लगाउनु भयो ।