
काठमाडौं । प्रधानसेनापति अशोकराज सिंग्देलले भदाै २४ गते प्रधानमन्त्री केपी ओलीले सुझाव माग्दा दुई विकल्प प्रस्तुत गरेको बयान दिनुभएको छ ।
पहिलो थप मानविय क्षति रोक्न राजीनामा दिनुपर्ने र दोस्रो संवैधानिक रूपमा सिफारिस भएमा सेनाले परिस्थिति नियन्त्रणमा लिन तयार भएको बयान दिनुभएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि परिस्थिति झन् अराजक बनेपछि परिस्थिति सम्हाल्न सक्रिय भूमिका निर्वाह गरेको दाबीसहितको बयान प्रधानसेनापति सिग्देलले दिनुभएको छ ।
२३ गते प्रधानमन्त्री निवासमा बालुवाटारमा सुरक्षा परिषद्को बैठक बस्दासम्म गृहमन्त्रीको राजीनामा भइसकेको, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइसकिएको र आन्दोलनकारीको माग सम्बोधन हुने आंकलन गरिएको अवस्थामा २४ गते उत्पन्न हुने परिस्थितिको ठोस अनुमान नगरिएको पनि सिग्देलको बयानमा उल्लेख छ ।
यस्तै सेना परिचालनबारे छलफल र निर्णय नभएको उहाँको बयान छ । २४ गते बिहान ५ बजे कर्फ्यु लगाउन सुझाव दिइएको भए पनि साढे ८ बजे कर्फ्यु घोषणा हुँदा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति भइसकेकाले कर्फ्यु प्रभावकारी हुन नसकेको बयानमा भनिएको छ ।
२४ गते सेनालाई सहयोगका लागि अनुरोध गर्दा सम्बोधन नभएको गुनासोमा सत्यता नभएकोसमेत उहाँको दाबी छ। त्यस्तै राष्ट्रपति निवास प्रधानमन्त्री निवासका मुख्य संरचना र विमानस्थल र कारगारलगायतका स्थान सेनाको पहलमा जोगाइएको र भौतिक संरचना भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिइएको बताइएको छ ।
यस्तै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिनुअघि राय सल्लाह नगरिएको बताउनुभएको छ । समग्र घटनाक्रम व्यक्तिगत निर्णयको परिणाम नभइ जटिल तीव्र र बहुअयामिक सुरक्षागत परिस्थितिको उपज भएको उहाँको तर्क छ ।
जानीजानी कुनै गैरकानुनी आदेश नदिएको र कर्फ्यु आदेशपछि मात्रै गोली चलेको उहाँले बयान दिनुभएको छ । त्यसैगरी संसद् भवन जलाइएको गेटमा आगजानी र विभिन्न ठाउँमा पर्खाल भत्काइएर आन्दोलनकारी भित्र प्रवेश गरेको र सुरक्षाकर्मीका हतियार खोस्न सुरू भएको र पोष्टमा आगजानी, प्रहरीमाथि ढुंगामुढा सुरू भएपछि बल प्रयोग भएको दाबी उहाँको छ ।
यस्तै तत्कालीन उपत्यका प्रहरी कार्यालय प्रमुख दानबबहादुर कार्कीले काठमाडौं उपत्यका भर एकै साथ हिंसा,आगजानी र तोडफोड र आक्रमण फैलिँदै गएको अवस्थामा समयको अभाव र अत्याधिक दबाबबीच निर्णय लिनपरेको बयान दिनुभएको छ । २३ गतेको दुखद मानवीय क्षतिपछि देश अर्को ठूलो द्वन्द्वमा जाने देखिएकाले २४ गते सुरक्षाको सर्वोच्च प्राथमिकता मानव जिवनको रक्षा बनाइएको बताउनुभएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले जिल्ला सुरक्षा समितिहरूका एकीकृत सुरक्षा योजना बनाई अन्य सुरक्षा निकायहरूसँग प्रभावकारी समन्वयमा रही सुरक्षा परिचालन गर्न संगठनात्मक संरचनाअनुसार कार्य विभागमार्फत निर्देशन दिएको बयान दिनुभएको छ ।
प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा, हातपात र आक्रमण गरी घाइते बनाएको अवस्थामा पनि आफूले सान्दर्भिक अधिकारहरूको संरक्षण गर्दै प्रभावकारी ढंगले नियन्त्रण गर्न निर्देशन दिएको दाबी गर्नुभएको छ ।