एन्फा निलम्बनमा

चैत्र ११, २०८२ |खेल ब्युरो
एन्फा निलम्बनमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ-एन्फालाई निलम्बन गरेको छ । 

एन्फाले तहगत निर्वाचन नगरी अर्ली इलेक्सनको अडान नछाडेपछि राखेपले तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले आगामी शुक्रबार झापामा निर्वाचन गर्दैछ । पुरानै प्रतिनिधिबाट आफूअनुकूल हुने गरी निर्वाचन गर्न लागेको भन्दै एन्फाको ब्यापक आलोचना भएको थियो । 

परिषद्ले एन्फालाई पटक-पटक प्रक्रिया पुर्याएर मात्र निर्वाचन गर्न पत्राचार गरेको थियो । पछिल्लो पटक एन्फालाई २४ घन्टाको अल्टिमेटमसहित निर्वाचन रोक्न परिषद्ले आग्रह गरेको थियो । तर, एन्फाले फिफा र एएफसीको नियम उल्लंघन हुने हुँदा निर्वाचनको विकल्प नरहेको जवाफ एन्फाले पठाएपछि राखेपले निलम्बन गरेको हो । 

राखेपले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को क २ लाई आधार मानेर एन्फा नेतृत्वलाई निलम्बन गरेको जानकारी दिएको छ । परिषद्ले एन्फाको विधानमा परिमार्जन र सुधार गर्नुपर्ने भन्दै नौ बुँदामा निर्देशन दिएको छ। उसले तहगत निर्वाचनको कुरालाई विधानमा नै व्यवस्था गर्न निर्देशन दिएको छ। 

वर्तमान कार्यसमितिको पदावधि आगामी असारमा सकिँदैछ । एन्फाले गत पुसमै अर्ली इलेक्सन घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । एन्फा पदाधिकारी अहिले निर्वाचनका लागि झापामा छन् । एन्फाले परिषद्को निर्णयमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन् । एन्फा महासचिव किरण राईले परिषद्ले एन्फालाई निलम्बन गरेको जानकारी पाइसकेको र छलफलमा रहेको बताएका छन्।