
काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ ।
बुधबार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो मूल्याङ्कन गर्नुभएको हो । उहाँले कुनै पनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल निर्वाचनको रूपमा व्याख्या गर्नुभयो ।
उहाँले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभुतपूर्व संयमको प्रशंसा गर्नुभयो । उहाँले विशेषगरी जेन–जी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभयो । अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले समेत यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यावाद समेत ज्ञापन गर्नुभयो ।