‘मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौं’

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफूहरूको मुख्य माग रहने पनि बताउनु भयो । 

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रस्ताव गर्ने पनि बताउनु भयो । उहाँले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताउनु भयो । 

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरूपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उहाँले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानुनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.