
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
यही चैत १२ गते अपराह्न २ बजे प्रतिनिधि सभा सदस्यहरूको सपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो । पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ ।
सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जित हासिल गरेको छ ।