कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू, चुनावी समीक्षा र १५ औँ अधिवेशनमा केन्द्रित

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू, चुनावी समीक्षा र १५ औँ अधिवेशनमा केन्द्रित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ ।

केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो । बैठक मुख्यगरी चुनावी समिक्षा र पार्टीको १५औँ अधिवेशनमा केन्द्रित हुने नेताहरूले बताएका छन् । बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टी अब १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताउनु भयो । 

गौतमकाअनुसार मंगलबारको बैठकले १५औँ महाधिवेशनको प्रारम्भिक कार्यतालिका प्रस्ताव गर्नेछ । उहाँले आगामी भदौसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल अगाडि बढ्ने बताउनु भयो । पार्टीभित्रको आन्तरिक विवादलाई साम्य पार्दै पार्टीलाई एकढिक्का राख्ने प्रयास भइरहेको उहाँको भनाइ छ । 

उहाँले कतिपय नेताहरूले सभापतिकै हस्ताक्षरमा चुनाव लडेर आएको तथा अहिले उहाँलाई नै मान्दिनँ भन्ने गरेको भन्दै उनीहरूमाथि नैतिकताको प्रश्न खडा भएको समेत बताउनु भयो । उहाँले आगामी महाधिवेशनलाई एकताको अधिवेशन बनाउने र सबैलाई समेटेर अघि बढ्ने दाबी समेत गर्नुभयो । 

प्रतिनिधि सभा निर्वाचनपश्चात् सभापति गगनकुमार थापासमेत पहिलो पटक पार्टी बैठकमा सहभागी हुनुभएको छ । यसअघि उहाँले दिनुभएको राजीनामा पार्टीले अस्वीकृत गरिसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.