
काठमाडौै । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै मोरङको क्षेत्र नम्बर ६ मा चुनावी चहलपहल बढेको छ । पटक पटक निर्वाचन जितेका व्यक्ति र नयाँ अनुहार प्रतिष्पर्धामा होमिएकाले मोरङ क्षेत्र नम्बर ६ को निर्वाचनको माहोल रोचक बनेको हो । प्रमुख दलका उम्मेदवारहरू विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय राजनीतिक स्थायित्वजस्ता एजेन्डा बोकेर प्रचारप्रसारमा छन् ।
आसन्न निर्वाचन नजिकिएसँगै मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोल तातेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका डाक्टर शेखर कोइराला र नेकपा एमालेका विनोद ढकाल उम्मेदवार छन् । कोइरालासँग २०६५ सालको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेर उपविजेता भएका ढकाल फेरि १७ वर्ष पछि कोइरालासँग प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । विगतमा गठबन्धन गरेर चुनाव लडेका ठूला दल यस पटक एक्ला एक्लै प्रतिस्पर्धामा छन् ।
केही नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन् । २०७९ सालको निर्वाचनमा तत्कालिन गठबन्धनबाट कोइराला विजयी हुनु भएको थियो । यो क्षेत्रमा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय राजनीतिक स्थायित्वजस्ता विषय यस क्षेत्रका उम्मेदवारका चुनावी एजेन्डा छन् ।
२०७९ सालको प्रतिनिधि सभाको उम्मेदवारमा मोरङको चार नम्बर क्षेत्रबाट उम्मेदवार बनेका एमाले उम्मेदवार ढकाल यसपटक क्षेत्र नं ६ बाट प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । विगतका निर्वाचन र पार्टीको आन्तरिक प्रतिष्पर्धामा लगातार हार व्योहोरेका ढकाललाई यो चुनाव कमब्याक गर्ने अवसर पनि हो । यो पटक क्षेत्र नम्बर ६ का जनताले आफूलाई न्याय गर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर ६ मा रुविना आचार्य उम्मेदवार हुनुहुन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट राजनीतिक यात्रा सुरु गरेकी रुविनाले नागरिक अधिकार, महिला सहभागिता, युवाका समस्यालाई र समावेशीताका मुद्दालाई प्राथमिकताका साथ उठाइरहुनु भएको छ ।
क्षेत्र नम्बर ६ बाट नेपाली कम्युनिष्ट पार्टीले श्रमिक नेता ओपेन्द्रकुमार रायलाई अघि सारेको छ । उहाँ जनयुद्ध लडेका नेकपाका पुराना नेता हुनुहुन्छ । राय मजदुर, पिछडिएको वर्ग र समुदायलाई नीति निर्माण तहमा पुर्याउने लक्ष्यसहित निर्वाचनमा उत्रिएको बताउनुहुन्छ ।
यो क्षेत्रमा तीन स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी छ । अहिले उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न रणनीतिका साथ घरदैलोमा व्यस्त छन् ।