देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यक : सभापति थापा

फाल्गुन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभइ सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताउनुभएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद)को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउनसक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’ उहाँले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

संस्थागत विकासको आवश्यकता

राज्यका संस्थाहरू बलियो नभए राष्ट्र असफल हुनेतर्फ इङ्गित गर्दै सभापति थापाले ‘ह्वाई नेसन्स फेल’ पुस्तकको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी पाएमा त्यसको भार मुलुकले थाम्न नसक्ने बताउनु भयो । ‘लोकतन्त्रलाई दिगो बनाउन र मुलुकलाई सही दिशामा लैजान बलिया संस्थाहरूको निर्माण अपरिहार्य छ,’ उहाँले भन्नुभयो ।

टिम नेपालको अवधारणा

मुलुकको समृद्धिका लागि एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै उहाँले ‘टिम नेपाल’ को अवधारणा अघि सार्नुभयो । उहाँकाअनुसार टिम नेपालभित्र सातवटा प्रदेश, ७ सय ५३ वटा स्थानीय तह, संसद्‌मा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्छ । सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिनसक्ने उहाँको भनाइ थियो ।

पुरानो र नयाँको परिभाषा

नेपाली कांग्रेसको ऐतिहासिक विरासत र वर्तमान सान्दर्भिकताकाबारे बोल्दै सभापति थापाले कांग्रेस पुरानो पार्टी भएर पनि सधैँ नवीन रहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकोमा गौरव गर्छ, तर यसले सडकमा आएका नौजवानहरूको आवाजलाई पनि उत्तिकै सुन्छ । त्यसैले यो सबैभन्दा पुरानो पार्टी पनि हो र समयको मागअनुसार चल्ने सबैभन्दा नयाँ पार्टी पनि यही हो ।’

सहकार्य र सुधारको बाटो

देशको मुहार फेर्न रिस र उत्तेजना काम नलाग्ने बताउँदै उहाँले राष्ट्रिय एकता र राजनीतिक सहकार्यमा जोड दिनुभयो । देश बनाउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सबै शक्तिहरूको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘सबैलाई मिलाएर लिएर जाने जिम्मेवारी र क्षमता नेपाली कांग्रेससँग छ ।’

मुलुकलाई दुर्घटनाबाट बचाउन र नागरिकलाई सेवा प्रवाह गर्न कांग्रेस नै अहिलेको सही विकल्प भएको उहाँको दाबी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.