पाल्पामा सुकुम्बासीलाई लालपुर्जा आश्वासनमा सिमीत

माघ २९, २०८२ |माधव अर्याल
पाल्पामा सुकुम्बासीलाई लालपुर्जा आश्वासनमा सिमीत

पाल्पा । हरेक निर्वाचनमा आफू विजयी भए सुकुम्बासीलाई लालपुर्जा बाँड्ने आश्वासन नेपाली राजनीतिमा नौलो विषय होइन । पाल्पाका भूमिहीन सुकुम्बासीले पनि ३० वर्षदेखि दलका नेताहरुबट यी र यस्तै नारा सुनिरहेका छन् । तर समस्या भने ज्यूँका त्यूँ छ ।

तानसेन नगरपालिका ६ जैसीचौपारीका जीतबहादुर विकको पुख्र्यौली गुल्मीको धुर्कोट हो । २०५० सालदेखि तानसेनको जैसीचौपारीमा बस्दै आएका उहाँ फलामका घरेलु हतियार बनाएर गुजारा गर्दै आउनुभएको छ । घर पनि नभएको होइन । विकसंँग मतदाता परिचयपत्र पनि छ । तर ३२ वर्षदेखि उहाँले जग्गाधनी पुर्जाका लागि प्रयास गरे पनि पाउन सक्नु भएको छैन । निर्वाचनको मुखमा भोट माग्न आउने उम्मेदवारको एउटै आश्वासन पटक पटक दोहोरिरहेको छ ।

विक मात्र नभइ जैसी चौपारीमा ३५ घर सुकुम्बासी छन् । दलहरुले सुकुम्बासी बस्तीलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरिरहेका छन् । तिनै सुकुम्बासी बस्तीका मतदाताको मतले जितेर गएका नेताले चुनावमा गरेको बाचा अनुसार काम गर्नेमा मतदाता नै विश्वस्त छैनन् । जग्गाधनी पुर्जाका लागि वर्षौदेखि पाएको आस्वासन पूरा नहुँदा सुकुम्बासी बस्तीका मतदाता दुःखी छन् ।

२०५१ सालयता पटक पटक भूमिहीन, सुकुम्वासी समस्या समाधानका लागि १७ वटा आयोग बने । तर तानसेनका ३ सय र रामपुरका ७ सय २ अव्यवस्थित परिवारलाई घडेरीको लालपूर्जा बितरण गरेको छ । तर भूमिहीन सुकुम्बासीलाई भने अहिलेसम्म लालपूर्जा बितरण गरेको छैन । पटक पटक सरकार परिवर्तन भइरहँदा आयोगले काम गर्न नसक्दा देशभरीका सुकुम्बासीले पूर्जा पाउन सकेका छैनन् । पछिल्लो समय बनेको भूमि समस्या समाधान आयोगले पाल्पा जिल्लभरका सबै अव्यवस्थित, दलित सुकुम्वासी र अन्य सुकुम्वासीको तथ्यांक लिएर काम अघि बढाएको जनाएको छ ।

पाल्पामा रामपुरको झण्डै ७ सय अव्यवस्थितलाई दुई वर्षअघि जग्गाधनी पुर्जा वितरण गरेको थियो । तर रामपुरमै अझै पनि सयौं अव्यवस्थित परिवारले जग्गा धनी पुर्जा पाएका छैनन् । १० वटै स्थानीय तहमा ६ हजार ६ सय ७८ अव्यवस्थित, ३ सय १५ दलित सुकुम्वासी र ६ सय ७४ अन्य सुकुम्बासी गरी ७ हजार ६ सय ७० परिवार रहेका छन् । त्यसमध्ये कागजपत्र पूरा भएका ५ हजार ९ सय ३२ जनाको प्रक्रिया अघि बढेको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।