
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको सक्रिय सहभागिता बिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताउनु भयो ।
ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्नसके मात्र विकासले गति लिने भन्दै उहाँले श्रम संस्कृति पार्टीमा कम्तिमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको बताउनु भयो । सरकारले गर्न नसक्ने कामहरु समेत नागरिकको स्वस्फूर्त श्रमदानले सम्भव हुने उहाँको भनाइ छ । उहाँले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।