बंगलादेशमा नयाँ सरकार बनाउन मतदान जारी

माघ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशमा नयाँ सरकार बनाउन मतदान जारी

काठमाडौै।  बंगलादेशमा नयाँ सरकार बनाउन मतदान जारी छ। देशभर मतदान भइरहेको छ र यो स्थानीय समयअनुसार दिउँसो साँढे चार बजेसम्म चल्ने छ।

बंगलादेशमा विद्यार्थी आन्दोलनपछि पहिलो पटक आज एकसाथ जनमत संग्रह र संसदीय निर्वाचन भइरहेको हो । शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने फैसला मतदाताले जनमत संग्रहमार्फत गर्नेछन्।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछिको यो पहिलो चुनाव हो, जहाँ १२ करोड भन्दा बढी मतदाताले मत खसाल्ने छन्। त्यसका लागि देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्र रहेका छन्। कुल ६० राजनीतिक दलको सहभागितामा रहने चुनावमा संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा प्रत्यक्ष मतदान हुनेछ। ५० सिट महिलाका लागि आरक्षित छ।

युवा विद्यार्थीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेश हसिना सरकार छोडेर भारततर्फ निर्वासित हुनुभएको थियो । त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद यूनुस नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। चुनावमा हसिना नेतृत्वको अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ। उक्त दल प्रतिबन्धमा पर्दा मुख्य प्रतिस्पर्धा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) र जमात–ए–इस्लामीबीच हुने देखिन्छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.