निर्वाचनका लागि २१ दिन बाँकी, आयोगले आजदेखि मतपत्र जिल्लामा पठाउँदै

फागुन १२ भित्र सबै जिल्लामा पुर्याइसक्ने आयोगको लक्ष्य
माघ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि २१ दिन बाँकी, आयोगले आजदेखि मतपत्र जिल्लामा पठाउँदै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २१ दिन बाँकी रहेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुले गतिविधि बढाएका छन् भने निर्वाचन आयोगले पनि तयारी तिब्र पारेको छ ।

निर्वाचन आयोगले आजदेखि मतपत्र जिल्ला जिल्लामा पठाउँदै छ । पहिलो चरणमा सुदूरपश्चिमका पहाडी जिल्ला मतपत्र पठाइने आयोगले जनाएको छ । फागुन १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने आयोगको लक्ष्य छ । निर्वाचनका लागि चाहिने दुई करोड तीन लाख मतपत्र शनिबारसम्म छापेर सक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि डेढ करोडभन्दा बढी मतपत्र छापिएको र अहिले दैनिक १५ लाख मतपत्र छपाइ भैरहेको पनि केन्द्रले जनाएको छ।

केन्द्रले छापेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले जिल्लाहरुमा पुर्‍याइसकेको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र पनि छापेर तयारी अवस्थामा राखिएको छ ।

यसैबीच, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो ।

यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा समेत राखेको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.