हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने : प्रधानमन्त्री

माघ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने : प्रधानमन्त्री

काठमाडौै। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गरिने बताउनुभएको छ। पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवा दल-एनसीसीद्वारा आयोजित विद्यार्थीहरुको तालिम समापनमा समारोहमा आउनुभएकी प्रधानमन्त्री कार्कीले कान्तिपुरसँग कुरा गर्दै हिमाली जिल्लामा सहज तरिकाले निर्वाचन गराउन तयारी गरिरहेको बताउनुभयो। 

हिमाली जिल्लामा गाडी आउजाउ गर्ने ठाउँमा मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले सोचिरहेको उल्लेख गर्दै उहाँले अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन हुने बताउनुभयो । उहाँले आफूहरुको पूरा ध्यान निर्वाचनमा केन्दि्रत भएको पनि बताउनुभयो । 

देशमा स्थायित्व र शान्ति कायम गर्न यो निवाचन कोशेढुंगा हुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सबैको उत्साहजनक सहभागिताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले युवाहरूको उत्साह र आत्मविश्वासले राष्ट्रिय एकतामा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । एनसीसी तालिम विद्यालय उमेरदेखि नै अनुशासन र अनुभव साटासाट गर्ने सुनौलो अवसर भएको उहाँको भनाइ छ ।

देशभरका १८ विद्यालयका ५ सय ३० विद्यार्थीहरूले सय दिनको एनसीसी तालिम लिएका हुन् । नेपाली सेनाले राष्ट्रिय सेवादलमार्फत् विद्यार्थीहरूलाई विपतमा जुटने र शारीरिक सुगठनसम्बन्धी तालिम दिँदै आएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले उत्कृष्ट भएका विद्यार्थी र सेनालाई शिल्ड , दर्ज्यानी र प्रमाणपत्र बितरण गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.