
धनुषा । फागुन २१ गते आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतीय सिमानासँग जोडिएका मधेस प्रदेशका ४४ प्रतिशत मतदान केन्द्र अति संवेदनशील र संवेदनशील रहेका छन् ।
भयरहीत शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन मधेश प्रदेशमा सुरक्षा तयारी तीव्र पारिएको छ । त्यसका लागि ५० हजार भन्दाबढि सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।
भारतसंग जोडिएको मधेश प्रदेशको राजधानी धनुषाको झण्डै ४९ किलोमिटरको खुला सीमाना छ ।फागुन २१ गते आसन्न प्रतिनिधि सभाको ४ जना सदस्य चयनका लागि धनुषाका ५ लाख १४ हजार ५ सय ७१ जनाले आ - आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।
यसका लागि ६ सय ४५ मतदान केन्द्र र ३ सय २३ मतदान स्थल छन् । जस मध्ये १ सय ९४ अति संवेदनशील, १ सय ६ संवेदनशील र २३ वटा मतदान स्थल सामान्य छन् ।
नेपाल भारत बीचको खुला सिमाना र जेनजी मुभमेन्ट पछि सुरक्षा चुनौतीको दृष्टकिोणले मतदान स्थललाई सुरक्षा निकायले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
भारतसंग जोडिएको ३ सय ६७ किलोमिटर सिमाना रहेको मधेश प्रदेशको आठै जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ५६ मतदान स्थल छन् ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले १ हजार २ सय ३७ वटा मतदान स्थल अति संवेदनशील र ७ सय ६३ संवेदनशीलको सूचीमा राखेका छन् भने सामान्य मतदान स्थल २ हजार ४ सय ७१ वटा मात्रै छन् ।
सुरक्षाको दृष्टकिोणले पर्सा बाहेक सप्तरी जिल्लाका मतदान केन्द्र सबैभन्दा बढी रेड जोनमा रहेका छन्। सप्तरीका २ सय ९, सिराहाका १ सय ५४, धनुषाका १ सय ९४, महोत्तरीका १ सय ६३, सर्लाहीका १ सय ५८, रौतहटका १ सय ५२ र बाराका १ सय ४५ मतदान स्थल अति संवेदनशील सूचीमा रहेको प्रदेश प्रहरीले जनाएको छ ।
निर्वाचनको विकल्प नरहेको भन्दै आएका चुनावी सरकारका परराष्ट्र मन्त्री बालानन्द शर्माले हालै सर्लाही, महोत्तरी लगायतका भारतीय सीमावर्ती क्षेत्रमा रहेका मतदान केन्द्रहरुको स्थलगत नीरीक्षण र निर्वाचनको तयारीबारे जानकारी लिनुभएको छ।
विगतको निर्वाचनमा मतदान बिथोलिएका, झडप भएका, मतपेटिका लुटिएका लगायतका घटना विश्लेषण गरेर सुरक्षा निकायले मतदानस्थलको संवेदनशीलता मापन गर्दै आएको । मधेश प्रदेशका ३६ लाख ३६ हजार ४ सय १४ जना मतदाताले ५ बर्षका लागि प्रतिनिधीसभाको ३२ जना सांसद रोज्ने छन् ।