
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रूकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित रूकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले रूकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गर्नुभयो । पूर्वी रूकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्नुहुँदै उहाँले चुनवाङ बैठकले महिला, जनजाति, मधेशी, थारूलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताउनु भयो ।
चुनवाङ बैठक नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उहाँको भनाइ छ । संयोजक दाहालले रूकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभयो । हाल देश जेन-जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उहाँको भनाइ छ ।
राष्ट्रलाई एकताबद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रूकुम पूर्व उपयुक्त थलो भएको उहाँले बताउनु भयो । उहाँले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेदवार बनेको बताउनु भयो ।
रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रूकुमपूर्व रोजेको उहाँको भनाइ छ । उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गर्नुभयो । यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको उहाँकाे भनाइ छ ।