
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा-५ मा निर्वाचनमा विजयी हुन कुनै पनि समस्या नरहेको दाबी गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सामाजिक सञ्जालमा हल्लाखल्ला भए पनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उहाँको भनाइ थियो । शुक्रबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता राजनीतिक रूपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेको समेत बताउनु भयो ।
उहाँले राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो । त्यस अवसरमा उहाँले काँग्रेससँग आफ्नो पार्टीको प्रतिस्पर्धा हुने पनि बताउनु भयो ।