शीर्ष नेताका चुनावी क्षेत्रमा सबैको चासो

माघ १५, २०८२ |दशरथ राई
शीर्ष नेताका चुनावी क्षेत्रमा सबैको चासो

काठमाडौै ।  प्रधानमन्त्रीका उम्मेदवार नै घोषणा गरेर हुन लागेको फागुन २१ को निर्वाचनप्रति राजनीतिक दल र मतदाताको चासो बढ्दै गएको छ । सबैभन्दा रोचक बनेको छ झापा ५ र सर्लाही ४ को निर्वाचन क्षेत्र । झापा ५ मा रास्वपाले बालेन्द्र शाह र नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मैदानमा उतारेको छ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका दुवै जनाको चुनावी लडाइँप्रति देशभरको नजर छ । 

यहाँ नेकपाले युवा नेता रन्जित तामाङलाई उतारेको छ भने कांग्रेसले मंधरा चिमरियालाई उम्मेदवार बनाएको छ । अर्को रोचक प्रतिस्पर्धा सर्लाही ४ मा हुँदैछ, जहाँ कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका सभापति गगन थापालाई उम्मेदवार बनाएको छ । थापालाई यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा विजयी रास्वपाका अमरेशकुमार सिंहले टक्कर दिएका छन् । कांग्रेसको गढ मानिएको सर्लाही ४ मा थापा र सिंहबीच कडा प्रतिस्पर्धा हुने मतदाताहरु बताइरहेका छन् । सर्लाहीमा एमालेका अमनिशकुममार यादव र नेकपाका रजनिस राय प्रतिश्पर्धामा छन् ।

झापा २ र ३ समेत चर्चामा छ । झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसबाट सरिता प्रसाईं र नेकपाबाट धर्मशिला चापागाईं उम्मेदवार छन् । झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसबाट राजेन्द्र घिमिरे, एमालेबाट हरि राजवंशी र नेकपाबाट डिल्लीराम घिमिरेले चुनौती दिएका छन् ।

उता धरान उपमहानगर प्रमुख छोडेर चुनावी मैदानमा होमिनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेर उम्मेदवार बनेकाले सुनसरी १ पनि चर्चामा छ । मधेश प्रदेशअन्तर्गत धनुषा ३ र ४ समेत यतिखेर चर्चामा छ । धनुषा ३ मा एमाले नेतृ जुली महतो, कांग्रेसका विमलेन्द्र निधि र रास्वपाबाट मनिष झाको प्रतिपर्धा निकै कडा हुने मतदाताहरुको भनाइ छ । धनुषाकै ४ मा पनि एमालेका उपमहासचिव रघुवीर महासेठ, कांग्रेसका महेन्द्र यादव, रास्वपाका राजकिशोर महतो र नेकपाका संजयकुमार महतोवीच रोचक प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् ।

मधेशकै सप्तरी २ र ३ मा पनि यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । सप्तरी २ मा जनमतका अध्यक्ष सीके राउतलाई उहाँकै पूर्वसहकर्मी मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र जनअधिकार पार्टीका अध्यक्ष शरदसिह यादवले टक्कर दिएका छन् । सप्तरी ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित एमालेका ताराकान्त चौधरी, कांग्रेसका दिनेश यादव र रास्वपाका अमरकान्त चौधरीवीच प्रतिस्पर्धा हुने देखिएको छ । फागुन २१ गतेको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएका क्षेत्र हुन्- चितवन २ र ३ जहाँ रास्वपा सभापति रवि लामिछाने र भरतपुर महानगरका निवर्तमान प्रमु्ख रेनु दाहाल चुनावी मैदानमा होमिनुभएको छ । तनहुँ १ को निर्वाचनलाई पनि निकै चासोका साथ हेरिएको छ । 

यहाँ रास्वपा उपसभापति स्वर्णिम वाग्ले, एमालेकी भगवती न्यौपाने र कांग्रेसका गोविन्द भट्टराईवीच प्रतिश्पर्धा हुनेछ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुग्नुभएको रुकुमपूर्व पनि यसपटक चर्चामा रहेको क्षेत्र हो । दाहालसँग कांग्रेसकी कुसुमदेवी थापा, एमालेका लीलामणि गौतम र रास्वपाका लखनकुमार थापा प्रतिश्पर्धामा छन् । काठमाडौँको ३ मा उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनाव लड्नुभएको छ । उहाँलाई रास्वपाका राजुनाथ पाण्डे, एमालेका रामेश्वर फुयाल र नेकपाका निरज लामाले चुनौती दिनुभएको छ । रास्वपाको एकता त्यागेर आफ्नै पार्टी उज्यालो नेपालमा फर्कनु भएका घिसिङ उम्मेदवार भएकाले पनि काठमाडौँ ३ लाई धेरैले चासोका साथ हेरका छन् ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।