
महोत्तरी । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी- ३ मा विभिन्न पार्टी एवं स्वतन्त्र उमेदवारहरूले उम्मेदवारी दिएका छन् ।
दलका शीर्ष नेताहरूको मनोमानी र परिवारवादविरूद्ध बागी उम्मेदवारहरूका कारण महोत्तरी- ३ मा प्रतिस्पर्धा रोमाञ्चक हुने भएको छ । विगतका दुईवटा चुनावमा महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादीका पार्टीका अध्यक्ष, हाल जसपा नेपालका संरक्षक महन्त ठाकुर विजयी हुनुभएको थियो ।
ठाकुरको यात्रा राष्ट्रिय सभातिर मोडिएपछि मनोनयन दर्ताको अन्तिम समयमा पार्टीका संरक्षक ठाकुरले यो ठाउँमा आफ्नी छोरी डाक्टर मिनाक्षी ठाकुरलाई जसपा नेपालको उम्मेदवार बनाउनुभएको छ । ठाकुरले छोरीलाई उम्मेदवार बनाएपछि जसपा नेपालका नेता पूर्वकृषिमन्त्री हरिनारायण यादवले पार्टीमा परिवारवाद हाबी भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिनुभएको छ ।
त्यस्तै पटकपटक प्रतिनिधि सभा र पालिका प्रमुखमा उम्मेदवारी दिएर हार व्यहोरिसकेका एमाले नेता रामअधार कापरले पार्टीमा विद्रोह गरेर यस पटक पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । २०७४ र २०८९ को निर्वाचनमा नेपाली कांग्रेसले औपचारिकरूपले महन्त ठाकुर र उहाँको पार्टीलाई सघाउँदै आएकोमा यसपटक भने आफ्नै पार्टीका नेता बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ ।
महन्त ठाकुर जितको लागि दुई चोटी सहयोग गरेको कांग्रेसका नेपालीले उहाँकी छोरी मिनाक्षीसाग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । २०७९ माको प्रदेश सभा निर्वाचनमा महोत्तरी ३ -(ख) बाट स्वतन्त्र उम्मेदवारी दिई पराजित भएपछि जसपा प्रवेश गरी दलीय राजनीतिमा लागेका उज्ज्वल झा, चुनावको मुखमै रास्वपा प्रवेश गरी उम्मेदवार बन्नुभएको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पुर्ख्याैली गाउँ एकडाराका उज्ज्वल झालाई उम्मेदवार बनाएपछि क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा झन् रोचक बनेको छ । ५९ हजार ९५० पुरूष तथा ५० हजार ८८६ महिला गरी एक लाख १० हजार ४ सय ३६ मतदाता रहेको महोत्तरी-३ मा ४१ जना उम्मेदवार छन् ।
यहाँ जनमत, राप्रपा, आम जनता पार्टीलगायतबाट केही नयाँ उम्मेदवार बने पनि पुरानै शैलीमा शिक्षा, स्वास्थ, सडकजस्त पुरानै कुरा लिएर मतदातामाझ पुग्न थालेका छन् ।