देशलाई पात्र होइन, एजेन्डा चाहिएको छ : अध्यक्ष थापा

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशलाई पात्र होइन, एजेन्डा चाहिएको छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभइ एजेन्डाको आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उहाँले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेन्डा आवश्यक रहेको बताउनुभएको हो । उहाँले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्नुहुँदै एजेन्डा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले नेपालको संघीयताको मोडेल त्रुटिपूर्ण रहेको बताउनु भयो । उहाँले संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटिहरु समेत सच्याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन आवश्यक रहेकोले यसलाई राजनीतिक सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले संवैधानिक प्रक्रियाबाट गरिएको संविधान संशोधनले पनि सबै समस्या हल गर्न नसक्ने बताउनु भयो । अध्यक्ष थापाले राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने बताउनु भयो । उहाँकाअनुसार पुनर्लेखनमार्फत संविधानका राम्रा पक्ष जोगाउँदै कमजोरी हटाउने र आवश्यक विषय थप्न सकिन्छ । 

उहाँले पाँच वर्षभित्र भ्रष्टाचार निर्मूल पार्ने राष्ट्रिय नीति बनाउनुपर्ने र मुलुकलाई आत्मनिर्भर बनाउन औद्योगिकीकरण अपरिहार्य रहेको बताउनु भयो । उहाँले चुनावी प्रतिबद्धता कार्यान्वयन नगर्ने उम्मेदवार वा दललाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले प्रतिबद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरेमात्रै उम्मेदवार वा दलहरू घोषणापत्रप्रति जिम्मेवार हुने उल्लेख गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.