गगन थापाले छाडेपछि काठमाडौं-४ का मतदाता दलभन्दा विकासका योजना हेर्ने मूडमा

माघ १४, २०८२ |प्रकाश बम
गगन थापाले छाडेपछि काठमाडौं-४ का मतदाता दलभन्दा विकासका योजना हेर्ने मूडमा

काठमाडौं । काठमाडौं-४ को चुनावी गतिविधि र परिणामप्रति धेरैको चासो बढेको छ । 

सधैं चर्चामा रहेन काठमाडौं-४ छाडेर कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट उम्मेदवारी मनोनय गरेपछि झन चौतर्फी चासो बढेको हो । तीन पटक लगातार जितेको क्षेत्रमा यसपटक सभापति थापाले आफ्नै नजिक बसेर पार्टीमा काम गरेका सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएका छन् भने एमाले, रास्वपा र राप्रपाले क्रमश: राजन भट्टराई, पुकार बम र सुरेन्द्र भण्डारीलाई उम्मेदवार बनाएको छ । 

त्यसो त यस क्षेत्रमा दश स्वतन्त्रसहित २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । संसदीय राजनीतिमा गगन थापा उदाएको काठमाडौं क्षेत्र न ४ हरेक निर्वाचनमा चर्चा र चासोमा हुने गर्छ । यसपटक कांग्रेस सभापति थापाले उम्मेदवारी नदिएपछि परिणामलाई लिएर झन धेरैको चासो बढेको हो। 

७० सालमा तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता नन्दबहादुर पुनलाई पराजित गरेर जितको सुरूवात गरेका कांग्रेस सभापति थापाले लगातार तीन पटक जित हासिल गर्नुभयो । गत निर्वाचनमा पार्टीले घोषणा नगरे पनि आफै प्रधानमन्त्री बन्ने भन्दै थापाले भोट माग्नु भएको थियो । 

थापा यसपटक क्षेत्र परिवर्तन गर्दै मधेश झर्नु भएको छ । कांग्रेसले युवा उम्मेदवार सचिन तिमिल्सिनालाई प्रतिस्पर्धामा हुनुहुन्छ । युवा उम्मेदवार र गगनको विरासतमा जित खोज्दै हुनुहुन्छ सचिन । लगातार थापासँग दुई वटा निर्वाचनमा हार व्यहोरेका एमाले सचिव राजन भट्टराई जित निकाल्न तेस्रो प्रयासमा हुनुहुन्छ । 

कांग्रेस सभापति थापाले क्षेत्र छोडेका कारण सहज हुने अनुमान भट्टराइले गर्नु भएको छ । लगातारको हारलाई धैर्य र निरन्तरताको राजनीतिक सन्देशका दिँदै आएका भट्टराईका लागि यो चुनाव राजनीतिक पुनरागमनको अन्तिम मौका पनि हो । देशभर रास्वपाको लहर आएका कारण जित निकाल्न सकिने अनुमान पुकार बमको छ । 

बम गत निर्वाचनमा काठमाडौं-१ मा पराजित हुनुभएकमो थियो । यसपटक क्षेत्र परिर्वतन गरी काठमाडौं चारमा आउनु भएका रास्वपाका बम जितको दाबी गर्नुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीले इन्द्रकुमार भुसाललाई उम्मेदवारका रूपमा अघि सारेको छ । नेकपाको जनाधार कमजोर भए पनि युवा उम्मेदवार र १८ दल मिलेर नेकपा बनेका कारण जित निकाल्न सहज हुने भुषालको अनुमान छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अधिवक्ता सुरेन्द्र भण्डारीलाई मैदानमा उतारेको छ । नयाँ पुराना र साना ठुला दलका १८ उम्मेदवारविरूद्ध १० जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । भंगेरादेखि प्रेशरकुकर, पानीको जारदेखि सारङगीसम्म सम्मका चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार मैदानका छन् । 

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा पर्छन् । त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा पर्छन् । बुढानीलकण्ठ नगरपालिकासहित ९ वटा वडा एमालेले र तीनवटा वडा मात्र कांग्रेसले जितेको छ । यहाँका मतदाताको अपेक्षा खानेपानी र कपन क्षेत्रमा हुने डुवानको समस्या समाधान हो । फोहोर मैला सडकको स्तर उन्नती पुरानै मुद्दा हो ।

जसरी जितिरहेका उम्मेदवारहरू क्षेत्र छाडेर बाहिरिएका र अर्को क्षेत्रमाबाट जित्नका लागि उम्मेदवारले क्षेत्र परिवर्तन गरेका छन् । त्यसरी नै यहाँका मतदाता पनि आफू मत परिवर्तन गर्ने खुल्लम खुल्ला बताइरहेका छन् । दल भन्दा पनि व्यक्तिगत छवि र प्रतिवद्धता हेर्ने उनीहरूले बताइरहेका छन् ।

गगनको विरासत सचिनले कायम राख्नुहुन्छ कि हारको श्रृंखलामा पूर्णविराम लगाउँदै भट्टराईले जित दर्ता गराउनु हुनेछ यसै भन्न सकिने अवस्था छैन । त्यसो त रास्वपाको लहरको बलमा बम अनुमोदित हुनुहुन्छ कि जनताको अदालतमा भण्डारीले बाजी मार्नु हुन्छ त्य पनि निश्चित छैन। पुराना/नयाँ दल या स्वतन्त्र उम्मेदवारहरू कसले जित्छन् त्यसका लागि फागुन २१ सम्म कुर्नैपर्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।