
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेश प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपील गर्नुभएको छ ।
बुधबार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता निधिले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद् नरहेको तथा सरकार जनताप्रति पूर्णरूपमा जवाफदेही नभएको आरोप लगाउनु भयो ।
उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली कांग्रेस भएको दाबी गर्नुभयो ।
उहाँले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नयाँ भनिएका दलहरू मधेसबासीको भावनासँग खेल्न खोजिरहेको आरोप लगाउँदै त्यसतर्फ सचेत हुन समेत सबैमा आग्रह गर्नुभयो ।