निर्वाचनमा एमालेलाई विजयी गराउन लाग्नुस्, देशले जित्नेछ : ओली

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा एमालेलाई विजयी गराउन लाग्नुस्, देशले जित्नेछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गर्नुभएको छ ।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि दिन आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने जिकिर गर्नुभयो । 

उहाँले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु-नेकपा एमालेलाई साथ दिनुहोस् । एमालेले तपाईंहरूलाई साथ दिनेछ । एमाले तपाईंहरूका लागि काम गर्छ । अरू कुनै उद्देश्य छैन । जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो । आफना लागि काम गर्ने होइन एमालेले । त्यसकारण मेरो आग्रह यही छ-तपाईंहरू सक्रियतापूर्वक एमालेलाई विजयी बनाउने काममा लाग्नुस । देशले जित्नेछ, शान्तिले जित्नेछ । सुशासनले जित्नेछ, विकासले जित्नेछ । ’

अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सु-संस्कृतिको बाटोमा फर्काउन पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.