
काठमाडौै । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारीको कुरा गर्ने हो भने संघमा निर्वाचन गराउनकै लागि गठन भएको नागरिक सरकारका मन्त्रीदेखि स्थानीय तहका निर्वाचित जनप्रतिधिसम्मै होमिएका छन् । संघ सरकारकै चार जना मन्त्रीले पदबाट राजीनामा दिएर चुनावै मैदानमा उत्रिँदा देशका ठूला २ महानगर प्रमुखहरुले पनि जिम्मेवारी त्यागेर उम्मेदवारी दिए ।
अन्य करिब दर्जन स्थानीय तहका निर्वाचित प्रतिनिधि पनि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको लाइनमा उभिएका छन् । यति मात्र होइन, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यसम्मैमा संसद पस्न तम्सिएका छन्।
कैलालीको टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भयो । प्रमुख डगौरा सांसद बन्न हिँडेसँगै र उपप्रमुख खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा संलग्नताको अभियोगमा निलम्बनमा परेसँगै पालिका नेतृत्वविहिन बनेको छ । डगौराले दल परिवर्तन गरि उम्मेदवार बन्नु भएको हो ।
एमालेबाट दुईपटक स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष बन्नुभएका खिमबहादुर थापा पनि राजीनामा दिएर स्याङ्जा–२ मा उम्मेदवार बन्नुभयो ।
प्रमुख मात्रै होइन, उपप्रमुखहरूले पनि राजीनामा दिएर उम्मेदजार बनेका छन् । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई एमालेले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले पनि राजीनामा दिएर बाँके २ मा उम्मेदवारी दर्ता गराउनु भयो ।
धरानमा भने प्रमुख साम्पाङसहित वडा नम्बर १७ का वडाअध्यक्ष मनोज भट्टराई प्रतिनिधिसभाको उम्मेदवार बन्नुभयो । भट्टराई र साम्पाङबीच सुनसरी–१ मा प्रतिस्पर्धा हुँदै छ ।
देशका ६ महानगरपालिकामध्ये २ महानगरका प्रमुख नै पनि सांसद बन्ने दौडमा हिडेका छन् । काठमाडौंका प्रमुख बालेन्द्र शाहले त प्रधानमन्त्री नै बन्ने आकांक्षा लिएर राजीनामा दिनुभयो । बालेन्द्र झापा ५ मा र भरतपुर महानगरबाट राजीनामा दिएर रेणु दाहाल चितवन ३ मा उमेद्वार बनेका छन् । बालेन्द्रले पहिलो कार्यकाल पुरा नगरि र दाहालले दोस्रो कार्यकाल पुरा नगरि राजीनामा दिएका हुन् ।
उता काभ्रेको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले पनि काभ्रे २ बाट उम्मेदवारी दर्ता गराउनुभयो । व्यञ्जुले पनि दोस्रो कार्यकाल नसकिँदै पदबाट राजीनामा दिनुभएको हो ।
स्थानीय तहका जनप्रतिनिधि मात्र होइन, प्रदेश सभाका सदस्यहरुले पनि संघीय सांसद बन्न खुट्टा उचालेका छन् । कोशी प्रदेशका राप्रपा सांसद भक्ती सिटौलाले राजीनामा दिनुभयो ।
मधेशबाट पूर्वमुख्यन्त्री सतिसकुमार सिंह, एमालेका भरतप्रसाद शाह र रामचन्द्र मण्डल तथा नेकपाका रहबर अन्सारीले राजीनामा दिनुभयो । सिंह र अन्सारीले दल बदलेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
बागमती प्रदेशबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुनिल केसीले राजीनामा दिए ।
लुम्बिनी प्रदेशसभाबाट नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की र कृष्णा केसी तथा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाले राजीनामा दिएर फागुन २१ को चुनाव भिड्दैछन्।
गण्डकी र कर्णालीबाट कसैले पनि राजीनामा दिएनन्। सुदुरपश्चिबाट स्वतन्त्र संसद तारा जोशीले राजीनामा दिनुभयो । जोशी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरि डडेल्धुराबाट उम्मेदवार बनेका छन् । जानकारहरुले भने पालिकाका प्रतिनिधि र सांसदहरु नै कार्यकाल पुरा नगरि हिँड्दा संघीयताकै खिल्ली उडाएको टिप्पणी गर्छन् ।
प्रदेशसभा सदस्यहरुले मात्र होइन, राष्ट्रिय सभाका सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पनि कार्यकाल नसकिँदै राजीनामा बुझाएका छन् । श्रेष्ठ सर्लाही ३ बाट र न्यौपाने तनहु १ बाट उमेद्वार बनेका छन् । गौतमले राजीनामा दिएपनि उम्मेदवार बन्नुभएन ।