प्रतिनिधिसभा निर्वाचन : सल्यानमा दुई स्वतन्त्रसहित १४ राजनीतिक दल चुनावी मैदानमा

माघ ८, २०८२ |सरिता चलाउने
 प्रतिनिधिसभा निर्वाचन : सल्यानमा दुई स्वतन्त्रसहित १४ राजनीतिक दल चुनावी मैदानमा

सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै देशभर निर्वाचनको माहोल तातेको छ । सल्यानमा दुई स्वतन्त्रसहित १४ राजनीतिक दलका उम्मेदवारहरू मैदानमा उत्रिएका छन् । उम्मेदवारहरूले आ–आफ्ना प्रतिबद्धता र एजेन्डासहित मतदातासमक्ष जाने तयारी गरिरहेका छन् ।

नेपाली कांग्रेसले जिल्ला सभापति केशबहादुर बिष्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । बिष्ट जिल्ला समन्वय समितिको प्रमुखको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुनुहुन्छ । उहाँ २०७९ को निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा पराजित हुनुभएको थियो । समग्र आर्थिक–सामाजिक विकास र संविधानको रक्षाका लागि उम्मेदवारी दिएको उहाँको भनाइ छ ।

एमालेबाट उम्मेदवारी दिनुभएका गुलाबजंग शाह पुराना नेता हुनुहुन्छ । उहाँ एमालेका कर्णाली प्रदेश इन्चार्जसमेत हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा सल्यान प्रदेश सभा ‘क’ बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित शाह, २०७९ को निर्वाचनमा प्रदेश सभा ‘ख’ बाट पराजित हुनुभएको थियो । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएका शाह समृद्ध सल्यानको परिकल्पनासहित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ ।

नेपाली कम्युनिस्ट पार्टी सल्यानले युवा नेता रमेश मल्ललाई उम्मेदवार बनाएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहनुभएका मल्लले नेकपाका संयोजक पुष्पकमल दाहालको स्वकीय सचिवका रूपमा पनि काम गरिसक्नुभएको छ । युवाका समस्या र रोजगारीलाई मुख्य एजेन्डा बनाएको उहाँको भनाइ छ ।

यसैगरी रास्वपाबाट ललितकुमार चन्द, नेकपा (माओवादी)बाट चन्द्रबहादुर खड्का तथा राप्रपाबाट अनिशा नेपाली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । अन्य दलका उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् । स्थानीय विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारहरू मतदाता समक्ष जाने तयारीमा छन् ।

यसपटकको निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य उम्मेदवारीले सल्यानमा चुनावप्रति चासो बढाएको छ । भ्रष्टाचार र बेथिति अन्त्य गर्दै युवाको चाहना र राष्ट्रिय एकता कायम गर्न स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएको दाबी गर्छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । सो निर्वाचनमा साविक एकीकृत समाजवादी तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वाला ३५ हजार सात सयभन्दा बढी मत ल्याउँदै विजयी बन्नुभएको थियो । यसपटक गठबन्धन नहुनु, नयाँ दल र स्वतन्त्र उम्मेदवारको बलियो उपस्थिति तथा मतदाताको बदलिँदो धारणा कारण सल्यानको चुनावी प्रतिस्पर्धा चासोको विषय बनेको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।