
सिन्धुपाल्चोक । परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभियान नै सुरु गरेको छ। फापर र कोदोको रोटी, योमरी, बारा, थेन्दुप, रेल्दिुप, छोइला, कचिलाजस्ता परिकारदेखि गुन्द्रुक र नुनचियासम्मका परम्परागत स्वादहरू जोगाउन नगरपालिकाले चार वर्षयता पाक उत्सव अभियान गर्दैआएको छ।
चौताराको टुँडिखेल छेउका स्टलहरूमा कतै फापर र कोदोको रोटी पकाइँदै छ भने कतै बारा र योमरी बनाउन महिला समूह व्यस्त देखिन्छन्। स्थानीय परिकारहरूको यो मनै लोभ्याउने दृश्य केवल खाना पकाउने अभ्यास मात्र होइन बरु लोप हुँदै गएका आदिवासी जनजातिका मौलिक स्वाद जोगाउने अभियान पनि हो । स्थानीय बाली प्रयोग गरी तयार गरिएका यी परिकार चाख्ने र चखाउनेको भिडले उत्सव स्थल भरिएको छ।
नगरपालिकाको निरन्तर प्रयासले यी रैथाने खानाका स्वादहरू अहिले फेरि भान्सादेखि बजारसम्म जीवन्त बन्दै गएका छन्। फापर र लोकल चामलको रोटी, गुन्द्रुकको मौलिक स्वाद, योमरी र बाराको मिठास, नुनचियाको अपनत्व-यी सबै परिकारहरू फेरि स्थानीयको रोजाइमा फर्किन थालेका छन्। यसले स्थानीय महिलाहरूको परम्परागत ज्ञानलाई आम्दानीसँग जोड्ने नयाँ बाटो पनि खोलिदिएको छ।
नगरपालिकाले सञ्चालन गर्दै आएको पाक उत्सवले यस्ता परिकारलाई केवल संरक्षण मात्र गरेको छैन, नयाँ पुस्तामा यसको स्वाद र महत्वप्रति जागरुक पनि बनाएको छ। रैथाने बाली उत्पादनलाई प्रोत्साहन गर्दै परिकारलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सारिएको छ। यसले स्थानीय किसानलाई उत्पादनमा प्रोत्साहन मिल्नुका साथै पर्यटकलाई आकर्षित गर्ने विश्वाससमेत लिइएको छ ।
जनजातिहरूका मौलिक परिकारहरू उनीहरूको संस्कृति रपहिचानसँग गहिरो रूपमा जोडिएका भए पनि पछिल्लो समय यी परिकार लोप हुने अवस्थामापुगेका छन्। जसकारण यस्ता मौलिक परिकारलाई जोगाउन सामूहिक प्रयास पनि आवश्यक छ।