
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई संस्थापन पक्षले स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले निर्वाचन आयोगले आधिकारिकता दिलाएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरू पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको हो ।
उहाँले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताउनु भयो । नेता शर्माले संस्थापन पक्षका नेताहरूलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरूले मिलाएर लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लैले लड्ने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गर्नुभयो । गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरू लाग्ने नेता शर्माको भनाइ थियो । नेता शर्माले कांग्रेस विभाजित नभएको पनि बताउनु भयो ।