चितवनमा ११औं खिचरा महोत्सव सुरू

पुस २९, २०८२ |राजु चौधरी
चितवनमा ११औं खिचरा महोत्सव सुरू

चितवन । थारू कला संस्कृति संरक्षण गर्न मंगलबारदेखि चितवनको खैरहनीमा ११औं खिचरा महोत्सव-२०८२’ सुरू भएको छ ।

खैरहनी-५ गौचरनमा सुरू भएको महोत्सवको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले समुद्घाटन गर्नुभयो । मन्त्री पौडेलले थारू समुदायको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको संरक्षण गर्न महोत्सव नै आयोजना गर्नु सकरात्मक कदम भएको बताउनुभयो । 

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव समुद्घाटन अघि झाकीसहितको शोभा यात्रा निकालिएको थियो । चितवनका थारू समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । 

थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा-साहित्य, कला-संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् । 

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघ/संस्थाका स्टल रहेको छ । यस्तै महोत्सव परिसरमा थारू कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।