डेढ वर्षअघि त्रिशूली नदीमा हराएको गणपति डिलक्स भेटियो

पुस २९, २०८२ |राजु चौधरी
डेढ वर्षअघि त्रिशूली नदीमा हराएको गणपति डिलक्स भेटियो

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित डेढ वर्षअघि त्रिशूली नदीमा खसेको दुईवटा बस मध्ये एक गणपति डिलक्स फेला परेको छ ।

आइतबार बिहान बसकाे केही भाग मात्र देखिए पनि पछि पुन: उत्खनन गर्दा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो । 

खोजी कार्यमा खटिएका सशस्त्र प्रहरी हबल्दार ललित बहादुर काम्चाले उत्खनन गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको कान्तिपुरलाई जानकारी दिनुभयाे । उहाँले अझै उत्खनन कार्य भइरहेको बताउनुभयाे । २०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । 

दुबै बसका ६५ यात्रुसहित बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर भने माथि आएका थिए । अरू सबै बससँगै बगेका थिए । दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । 

सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर, बस फेला पर्न सकेको थिएन ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।