
रामेछाप । शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जन्मिएको एक महिनामै देशव्यापी रूपमा फैलिएको दाबी गर्नुभएको छ।
मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रामेछाप सदरमुकाम मन्थली आउनुभएका मन्त्री घिसिङले सोमबार मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। उहाँले उज्यालो नेपाल पार्टीलाई सानो सलाइको झिल्कोसँग तुलना गर्दै छोटो समयमै देशभर फैलिनु पार्टीका लागि सबैभन्दा महत्वपूर्ण र सकारात्मक उपलब्धि भएको बताउनुभयो।
उहाँका अनुसार पार्टी अबको दुई महिनाभित्र बहुमतसहित सरकारमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन नहुन सक्ने भन्ने चर्चा चलिरहेका बेला मन्त्री घिसिङले नेपालमा २३ घन्टामै कसैले नसोचेको परिवर्तन भएको घटना ताजा रहेको उल्लेख गर्नुभयो।
उहाँले जुनसुकै अवस्थामा पनि तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुने स्पष्ट पार्नुभयो। राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति हुन नसके राजनीतिक परिवर्तन मात्रले देशमा सार्थक परिवर्तन सम्भव नहुने उहाँको भनाइ थियो। यो मुलुकमा राजनीतिक परिवर्तन मात्रै होइन आर्थिक क्रान्ति गर्न उज्यालो नेपाल पार्टी जन्मिएको उहाँको भनाइ छ ।